गाँजा तस्करीमा नयाँ प्रविधिको प्रयोग, ४० किलो गाँजासहित एक पक्राउ

कोल्हवी न्यूज
२०८२ जेष्ठ १७, शनिबार १६:०६ गते

गाँजा तस्करीमा नयाँ प्रविधिको प्रयोग हुँदै गएको पुष्टि गर्ने घटनामा महोत्तरी प्रहरीले शुक्रबार राति एक ईभी कारबाट ४० किलो गाँजा बरामद गरेको छ। बर्दिवासबाट भारततर्फ लैजाँदै गरिएको गाँजा माईस्थान क्षेत्रमा चेकजाँचको क्रममा बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, बा ०१–०३० च ७८०५ नम्बरको सेतो रंगको इलेक्ट्रिक कार (ईभी) गौशालातर्फ गइरहेको सूचना पाएपछि माईस्थानमा रोकेर चेकजाँच गर्दा कालो झोला, जेब्रा झोला र डिक्कीमा सेतो प्लास्टिकले बेरेको अवस्थामा ८ पोकामा राखिएको ४० किलो गाँजा फेला परेको हो।

गाँजासहित पक्राउ परेका व्यक्ति बर्दिवास–११ निवासी ३१ वर्षीय रंगलाल सेङतान रहेको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरी कारसहित इलाका प्रहरी कार्यालय बर्दिवासमा राखेर अनुसन्धान अघि बढाइएको छ

प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्रकुमार भट्टका अनुसार, “गाँजा लुकाउन विशेष रणनीति अपनाइएको थियो, तर सतर्क प्रहरी टोलीको निगरानीले समयमै तस्करी रोक्न सफल भयौं।”

हालैका दिनमा महोत्तरी जिल्लामा गाँजा तस्करीको गतिविधि तीव्र रुपमा बढिरहेको देखिएको छ। केही दिनअघि मात्रै बर्दिवासमा एक स्कर्पियोबाट १५८ किलो गाँजा बरामद गरिएको थियो भने बिहीबार जलेश्वर र शुक्रबार साँझ रामगोपालपुरमा पनि गाँजा बरामद गरिँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*