वीरगन्जमा लोडरको ठक्करबाट गम्भीर घाइते एक पैदल यात्रीको मृत्यु

कोल्हवी न्यूज
२०८२ जेष्ठ १६, शुक्रबार १६:३१ गते

 पर्साको वीरगन्ज महानगरपालिका–७ कुमाल टोलस्थित रेलवे रोडमा लोडरको ठक्करबाट गम्भीर घाइते भएका एक पैदल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ। मृतकको सनाखत हुन नसकेकोले प्रहरीले चिन्ने व्यक्तिहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

घटना सोमबार, जेठ १२ गते साँझ साढे ८ बजे भएको हो। मधेश प्रदेश ०३–००२ स ४३८८ नम्बरको लोडरले पैदल हिँडिरहेका अन्दाजी २८ वर्षीय तराई मूलका एक पुरुषलाई ठक्कर दिएको थियो। लोडर वीरगञ्ज–१६ भुटनदेवी टोलका २१ वर्षीय किसन बर्णवालले चलाएका थिए।

ठक्करबाट गम्भीर चोट लागेका ती पुरुषलाई तत्काल नारायणी अस्पताल वीरगन्ज लगिएको थियो। उपचार सम्भव नभएपछि उनलाई बाराको एल.एस. न्यूरो एण्ड जनरल अस्पताल परवानीपुर रेफर गरिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धान गरी लासको मुचुल्का तयार पारेको छ। हाल मृतकको शव नारायणी अस्पताल वीरगन्जकाे शवगृहमा राखिएको छ।

पर्सा प्रहरीले मृतकको पहिचानका लागि जानकारी मागेको छ। प्रहरीका अनुसार मृतकको उचाइ ५ फिट ६ इन्च, शरीर मझौला, पहिरनमा आकाशे रंगको हाफ टी–सर्ट र निलो जिन्स प्यान्ट रहेका छन्। उनलाई चिनेका व्यक्तिहरूलाई ९८५५०९०१३६, ९८५५०९०३२९ वा ९८५५०२८२८५ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*