रौतहटमा अनुगमनमा गएका औषधी विभागका कर्मचारीमाथि स्थानीयद्धारा कुटपिट

कोल्हवी न्यूज
२०८२ जेष्ठ ६, मंगलवार १२:१६ गते

रौतहटको राजपुर नगरपालिका–४ मा औषधी पसल अनुगमनका लागि पुगेका औषधी व्यवस्था विभागका कर्मचारीमाथि स्थानीयले आक्रमण गरेका छन्। आक्रमणमा दुई जना कर्मचारी र एक स्थानीय महिला घाइते भएका छन्।

वीरगन्जस्थित औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालयका प्रमुख शम्भु साहका अनुसार, दर्ता नगरी अवैध रूपमा औषधी बिक्री भइरहेको भन्ने उजुरीको आधारमा निरीक्षण गर्न गएको टोलीमाथि स्थानीयले प्रतिकार गर्दै कुटपिट गरेका हुन्।

फार्मेसी निरीक्षक ओमप्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा आक्रमणमा घाइते भएका छन्। उनीहरूलाई सामान्य चोटपटक लागेको छ। घटनाका क्रममा ५५ वर्षीया सुमित्रा देवीले अनुगमन टोलीको बचाउ गर्ने क्रममा चोट पाउँदा उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको छ।

घटनाका बेला जिल्ला प्रहरी कार्यालय रौतहटका निरीक्षक रुद्रराज कँडेलसहित, जिल्ला प्रशासन कार्यालयका खरिदार उमेशप्रसाद पनि टोलीमा सहभागी थिए। स्थानीयले प्रहरी निरीक्षक कँडेलको मोबाइलसमेत फुटाइदिएका छन् भने अनुगमन टोलीको केही कागजात पनि खोसिएको छ।

राजपुर–५ निवासी शेख नेक महम्मदले हार्डवेयर पसलको बोर्ड राखेर वर्षौंदेखि अवैध रूपमा औषधी पसल सञ्चालन गर्दै आएको उजुरीपछि विभागीय टोली अनुगमनमा गएको हो।

घटनापछि थप प्रहरी टोली खटाइएर कर्मचारीहरूको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेशप्रसादले जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*