बीरगन्जमा भन्सार छली गरिएको ७ लाख रुपैयाँ बराबरको अवैध तयारी कपडा बरामद
पर्साको छपकैया गाउँबाट सशस्त्र प्रहरीले झण्डै ७ लाख रुपैयाँ बराबरको अवैध तयारी कपडा बरामद गरेको छ। भारतबाट भन्सार छली गरेर ल्याइएको ती कपडा तीन वटा घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगन्ज र बीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा बीरगन्ज महानगरपालिका–१ स्थित छपकैया गाउँमा छापा मारेको थियो।
सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहका अनुसार, बरामद कपडाको मूल्य ६ लाख ९८ हजार ८ सय रुपैयाँ रहेको छ।
बरामद गरिएको सम्पूर्ण कपडा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।