गाजामा इजरायलको लगातार तेस्रो दिन आक्रमण, आज २० जनाको मृत्यु
इजरायलले आज बिहान गाजामा गरेको शक्तिशाली हवाई आक्रमणमा २० जनाको मृत्यु भएको छ । इन्डोनेसियाली अस्पतालमा २० जनाको शव गणना पुष्टि गरिएको अधिकारीहरुले बताएका छन् । इजरायलले फेरि एक पटक गाजामा शक्तिशाली र घातक हवाई आक्रमण गर्दा अरू धेरै मानिस घाइते भएका छन् ।
इजरायलले पछिल्ला केही दिन यता गाजामा निरन्तर आक्रमण गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्वको भ्रमणमा रहकै बेला आक्रमण भएका छन् । राष्ट्रपति ट्रम्पले इजरायल र हमासबिच युद्धविराम गराउन धेरै महत्त्वपूर्ण प्रयासहरू पनि गरेका छन् । इजरायल र हमासबिच जारी द्वन्द्वका बेला इजरायलले गाजामा घातक हवाई आक्रमण गरेको यो लगातार तेस्रो दिन हो ।
यसअघि बिहीबार इजरायलले दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण गर्दा ५४ जनाको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका थिए । बुधबार उत्तरी र दक्षिणी गाजामा भएका आक्रमणहरूमा कम्तीमा ७० जनाको मृत्यु भएको थियो ।








