जेजु एअर विमान दुर्घटना : पीडित परिवारले यातायातमन्त्रीसहित १५ जनाविरुद्ध उजुरी दर्ता गरे

कोल्हवी न्यूज
२०८२ बैशाख ३१, बुधबार १७:३२ गते

दक्षिण कोरियामा गएको डिसेम्बर महिनामा भएको जेजु एअरको विमान दुर्घटनाका पीडित परिवारले यातायातमन्त्री र एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित १५ जनाविरुद्ध उजुरी दर्ता गरेका छन् ।

विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका केही परिवारले यातायातमन्त्री पार्क साङ्ग वू र जेजु एअरका सीईओ किम ई–बेसहित १५ जनाविरुद्ध व्यावसायिक लापर्बाहीको आरोपमा उजुरी दर्ता गरेका बीबीसीले जनाएको छ ।

एक सय ८१ जना सवार रहेको विमान दुर्घटना हुँदा एक सय ७९ जनाको ज्यान गएको थियो । यो दक्षिण कोरियाली भूमिमा भएको सबैभन्दा घातक विमान दुर्घटना हो । पीडित परिवारहरूले त्यो दुर्घटना साधारण नभएको तर रोकथाम गर्न सकिने जोखिमहरूको व्यवस्थापनामा लापर्बाही गरेका कारण ठूलो नागरिक विपत्ति भएको आरोप लगाएका खबरमा उल्लेख छ ।

झन्डै पाँच महिना बितिसक्दा पनि अधिकारीहरूले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनाग्रस्त हुनु र त्यसपछि आगो लाग्नुको कारण के हुन सक्छ भन्नेबारेमा अध्ययन गरिरहेका छन् ।

यो पछिल्लो उजुरी दर्ता हुनुभन्दा पहिले नै प्रहरीले आपराधिक अनुसन्धान शुरू गरिसकेको थियो र जेजु एअरका सीईओलाई देश छोड्न प्रतिबन्ध लगाएको थियो तर घटनामा कसैलाई पनि अभियोग लगाइएको छैन ।

उजुरीमा नाम उल्लेख गरिएका १५ जनामध्ये निर्माण, सुपरिवेक्षण, सुविधा व्यवस्थापन र चरा नियन्त्रणका लागि जिम्मेवार सरकारी अधिकारी, एअरलाइन्सका अधिकारी र विमानस्थलका कर्मचारीहरू छन् ।

गएको डिसेम्बर २९ मा जेजु एअरको बोइङ ७३७–८०० विमान थाइल्यान्डको राजधानी बैंककबाट दक्षिण कोरियाको मुआनका लागि उडेको थियो । यो विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा ‘नेभेगेशन’ का लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

यस वर्षको शुरूमा अनुसन्धानकर्ताहरूले विमानको दुवै इन्जिनमा चराको प्वाँख फेला पारेको बताएका थिए तर चरा ठोक्किनु दुर्घटनाका लागि कति हदसम्म योगदान पुर्‍याउने कारक थियो भन्ने निष्कर्ष निकालेका थिएनन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*