रौतहटमा विवाह भएको ६ महिनामै एक युवतीको रहस्यमय मृत्यु: दाइजोका कारण हत्या गरिएको माइतीको आरोप

कोल्हवी न्यूज
२०८२ बैशाख ३०, मंगलवार १६:१४ गते

रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको मात्र ६ महिना नपुग्दै एक युवतीको रहस्यमय मृत्यु भएको छ। मृतक २१ वर्षीया सानिया प्रविनको मृत्यु दाइजोसम्बन्धी विवादकै कारण भएको भन्दै माइती पक्षले कडा छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।

सानियाको शव आइतबार दिउँसो कटहरिया–५ स्थित आफ्नै घरमा सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेको थियो। इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमका लागि गौर प्रादेशिक अस्पताल पठाएको थियो।

सानियाकी आमा कायमा खातुनका अनुसार उनकी छोरीको विवाह करिब ६ महिना अघि अरमान राय भाटसँग मुस्लिम परम्परा अनुसार भएको थियो। विवाहपछि अरमान र उनका परिवारले दाइजोको नाममा छोरीलाई बारम्बार मानसिक र शारीरिक यातना दिने गरेको खातुनको आरोप छ।

उनले छोरीको आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन्। यस विषयमा सानियाको माइती पक्षले इलाका प्रहरी कार्यालय गरुडामा औपचारिक जाहेरी पनि दर्ता गराएका छन्।

प्रहरी प्रमुख डीएसपी राजन कार्कीले घटनाबारे अनुसन्धान जारी रहेको र प्राप्त प्रमाणका आधारमा मात्र कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*