भारत र पाकिस्तानबीच युद्धविराम सहमति

कोल्हवी न्यूज
२०८२ बैशाख २८, आईतवार ०७:०६ गते

जम्मूकश्मीरको पहलगाम घटनापछि एकअर्काविरुद्ध आक्रमण थालेका भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका सैन्य महानिर्देशकबीच हिजो भएको टेलिफोन वार्तामा युद्ध रोक्ने सहमति भएको हो ।

दुवै पक्षले जमिन, आकाश र समुद्र सबैतिरको गोलाबारी र सैन्य कारबाही रोक्ने तथा कुनै तटस्थ ठाउँमा वार्ता गर्न सहमत भएको जानकारी दिएका थिए । अर्को वार्ता भोलि सोमवार हुने भनिएको छ । तर सीमापार ड्रोन हमला र गोलाबारी नरोकिएका कारण युद्धविरामको कार्यान्वयनमा चुनौती देखिएको छ ।

दुई देशले युद्धविराम भएको भने पनि केही घण्टामै हिजो बेलुका जम्मूकश्मीरका मुख्यमन्त्री उमर अब्दूल्लाहले श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका बताउनुभएको थियो । लगत्तै भारतले दुई देशबीच भएको युद्धविरामको सहमति पाकिस्तानले राति उलङ्घन गरेको आरोप लगाएको छ ।

भारतका विदेश सचिव विक्रम मिश्रीले गएराति विशेष प्रेस ब्रिफिङ गरी हिजो अपराह्न दुई देशबीच भएको सहमतिलाई पाकिस्तानले उलङ्घन गरेको प्रतिक्रिया दिनुभएको छ । पाकिस्तानको तर्फबाट सहमतिको उलङ्घन भएको र यो एकदमै निन्दनीय रहेको उहाँको भनाइ छ ।

विदेश सचिव मिश्रीले भारतीय सेनाले जवाफी कारबाही गर्नुका साथै सीमामा आक्रमणसँग जुधिरहेको बताउनुभयो । पाकिस्तानले जम्मूकश्मीर, राजस्थान, पञ्जाब र गुजरातमा गोलाबारी र ड्रोन आक्रमण गरेको भारतको आरोप छ । तर भारतको पछिल्लो आरोपमा पाकिस्तानको टिप्पणी वा प्रतिक्रिया आइसकेको छैन ।

त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानकाबीच तत्काल र पूर्ण युद्धविराम गर्ने सहमति बनेको जानकारी दिनुभएको थियो । भारतका विदेश सचिव मिश्रीले पनि त्यस्तो जानकारी दिँदै दुवै पक्षबीच बेलुका पाँच बजेपछि नै गोलाबारी र सैन्य कारबाही रोक्ने सहमति भएको बताउनुभएको थियो । गएको अप्रिल २२ तारिखमा जम्मूकश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएपछि दुई देशबीच तनाव चुलिएको थियो ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*