धनुषा प्रहरीले अनलाइन ठगी गर्दै साढे दुई करोड ठग्ने सात जना पक्राउ

कोल्हवी न्यूज
२०८२ बैशाख २५, बिहीबार १६:३७ गते

सामाजिक सञ्जालमार्फत फर्जी एकाउन्ट बनाएर अनलाइनमार्फत साढे दुई करोड रुपैयाँभन्दा बढी ठगी गर्ने गिरोह धनुषामा पक्राउ परेको छ।

धनुषा प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार, विभिन्न व्यक्तिहरूलाई मोबाइल, मोटरसाइकल जस्ता सामान सस्तो मूल्यमा उपलब्ध गराउने भन्दै ठगी गर्ने सात जनालाई पक्राउ गरिएको हो। उनीहरूले अनलाइन ठगीबाट कुल २ करोड ६३ लाख ९ हजार ३१२ रुपैयाँ असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेशकुमार साह, गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्यामसुन्दर महरा र २० वर्षीय रामकुमार महरा रहेका छन्।

धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीका अनुसार, उनीहरूले अग्रिम रकम लिएर सम्पर्कविहीन हुने तरिका अपनाउँथे। अनुसन्धानमा उनीहरूको साथबाट १० थान मोबाइल फोन, १८७ वटा बैंक तथा वालेट खाता, र २१ वटा फेक फेसबुक एकाउन्ट तथा पेज फेला परेको छ।

पीडितहरूले सामाजिक सञ्जालमा देखिएका विज्ञापनमा विश्वास गरेर पैसा पठाउने गरेका थिए। ठगीपश्चात् सम्पर्क तोडेर फरार हुने समूहलाई धनुषाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ परेका सातै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*