चितवन निकुञ्जमा ३७ प्रतिशत घटे पर्यटक, राजस्वमा ५ करोडको गिरावट
देशकै प्रमुख पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा ठूलो गिरावट आएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म निकुञ्जमा पुग्ने पर्यटक संख्या अघिल्लो वर्षको तुलनामा करिब ३७ प्रतिशतले घटेको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार गत आव २०७९/८० को चैत मसान्तसम्म २ लाख ५० हजार ३ सय ६७ जना आन्तरिक तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। तर, चालु आव २०८०/८१ को सोही अवधिमा यो संख्या घटेर १ लाख ८२ हजार २ सय २७ मा सीमित भएको छ।
पर्यटक घटेसँगै निकुञ्जले संकलन गर्ने राजस्वमा पनि उल्लेख्य गिरावट आएको छ। अघिल्लो वर्ष चैतसम्म २८ करोड २६ लाख रुपैयाँ राजस्व उठाएको निकुञ्जले यो वर्ष चैत मसान्तसम्म २३ करोड ६४ लाख ९९ हजार ९ सय ५९ रुपैयाँ मात्रै संकलन गर्न सकेको हो। अर्थात् निकुञ्जले यस अवधिमा करिब ५ करोड रुपैयाँ राजस्व गुमाएको छ।
निकुञ्जले पर्यटन शीर्षकमा मात्रै अघिल्लो वर्ष २३ करोड ८९ लाख रुपैयाँ राजस्व उठाएको थियो भने यो वर्ष त्यो घटेर २१ करोड ५ लाख रुपैयाँमा झरेको छ। यसबाहेक, काठ-दाउरा बिक्री, गैरकाष्ठ वन पैदावार र दण्ड जरिबानाबाट पनि राजस्व संकलनमा गिरावट आएको देखिन्छ।
चालु आवको चैत मसान्तसम्म ९२ हजार ८ सय ९० नेपालीले निकुञ्ज भ्रमण गरेका छन्। तीमध्ये ५० हजार १ सय पुरुष र ४२ हजार ७ सय ९० महिला छन्। सार्क मुलुकका १६ हजार ७ सय ९८ र तेस्रो देशका ७२ हजार ५ सय ३९ जना पर्यटकले निकुञ्ज घुमेका छन्।
निकुञ्ज भ्रमणका लागि चैत मसान्तसम्म ६ हजार ७ सय ८३ वटा जिप प्रयोग भएका छन्। निकुञ्जभित्र हात्ती प्रवेशमा रोक लगाइएकाले पर्यटक हाल जिप, डुंगा र पैदल यात्रामार्फत भ्रमण गर्दछन्। प्रतिजिप पाँच हजार र व्यक्तिअनुसार नेपाली पर्यटकबाट १५०, सार्क मुलुकका पर्यटकबाट १ हजार र अन्य विदेशीबाट २ हजार रुपैयाँ शुल्क लिने गरिन्छ।
संरक्षण अधिकृत पन्तका अनुसार निकुञ्जको उद्देश्य धेरै पर्यटक भित्र्याउनेभन्दा पनि गुणस्तरीय सेवा दिनेमा केन्द्रित छ। तर, गत वर्ष असोजमा आएको बाढी र जिप सफारी ढिलो खोलिएकाले पर्यटक आगमन घटेको तथ्य स्वीकारेका छन्।
चितवन निकुञ्जमा विदेशी पर्यटक प्रायः बाघ, गैँडा, राप्ती नदीको डुंगा सयर तथा थारू संस्कृतिको अवलोकनका लागि आउने गर्दछन्। तर, पछिल्लो वर्षको तथ्यांकले पर्यटक आकर्षणमा गिरावट देखाउँदै निकुञ्ज व्यवस्थापनलाई चुनौती थपिएको संकेत गरेको छ।










