सीआईबीको नक्कली कर्मचारी बनेर ठगी गर्ने एक युवक पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को कर्मचारी भएको भनी सर्वसाधारणलाई ठगी गर्ने एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
सहिदनगर नगरपालिका क्षेत्रबाट पक्राउ परेका व्यक्ति बटेश्वर गाउँपालिका–५ कालिपुरका ३० वर्षीय रामभजन मण्डल रहेका छन्।
धनुषा प्रहरीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार, मण्डलले आफुलाई अख्तियार वा सीआईबीको कर्मचारी बताउँदै सर्वसाधारण र प्रहरीलाई समेत झुक्याउने र विभिन्न लाभ लिने गरेको खुलाइएको छ।
प्रहरीका अनुसार, उनले लाभ नपाएको अवस्थामा सम्बन्धित व्यक्तिहरूमाथि धाकधम्कीसमेत दिने गरेका थिए। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ र सर्वसाधारणलाई यस्ता ठगीबाट सतर्क रहन अनुरोधसमेत गरेको छ।










