पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १० अर्बभन्दा बढीको भ्रष्टाचार, संसदीय उपसमितिको ठहर

कोल्हवी न्यूज
२०८२ बैशाख ४, बिहीबार १६:३४ गते

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १० अर्बभन्दा बढीको भ्रष्टाचार भएको संसदीय उपसमितिले ठहर गरेको छ। लामो समयदेखि भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै आएको राष्ट्रिय एकता अभियानले उपसमितिको निष्कर्षलाई स्वागत गर्दै सराहना गरेको छ।

अभियानका अध्यक्ष विनय यादवले बिहीबार एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारविरुद्ध निरन्तर दबाब, जनजागरण र सशक्त वकालतले यस्तो गम्भीर अन्याय उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।

उनले वक्तव्यमा भनेका छन्, “यो भ्रष्टाचारले नेपालको विकास र जनताको भविष्यमाथि गम्भीर आघात पुर्याएको छ।” साथै, यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) सँग दोषी अधिकारी, ठेकेदार र संलग्न सबैलाई कडा कारबाही गर्न र पारदर्शी छानबिन प्रक्रिया सुनिश्चित गर्न माग गरेका छन्।

राष्ट्रिय एकता अभियानले इमानदार शासन, जवाफदेही प्रशासन र राष्ट्रहितमा आधारित विकास प्रणालीको पक्षमा जनताको आवाज बुलन्द बनाउँदै आएको समेत जनाएको छ। अध्यक्ष यादवले भ्रष्टाचारमुक्त, जनमुखी र पारदर्शी शासन प्रणाली नै जनताको हक हो भन्दै भ्रष्टाचार विरुद्धको अभियानलाई अझ सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*