बारामा लागूऔषध गाँजासहित दुई जना नियन्त्रणमा

कोल्हवी न्यूज
२०८१ चैत्र २७, बुधबार १७:१९ गते

जिल्ला प्रहरी कार्यालय बाराले दुई छुट्टाछुट्टै घटनामा लागूऔषध गाँजासहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ ।

बारा प्रहरीले विशेष सूचनाको आधारमा गरेको कारबाहीमा मोटरसाइकल र अटो रिक्साबाट गरी कुल ४२ किलो ७०० ग्राम गाँजा बरामद गरेको हो ।

पहिलो घटनामा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले अमलेखगञ्ज चेक प्वाइन्टमा हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ३६ प २१७७ नम्बरको पल्सर मोटरसाइकललाई रोक्न खोज्दा चालक भाग्न खोजेका थिए ।

प्रहरीले लखेटेर गणेश मन्दिर नजिकैबाट उक्त मोटरसाइकल नियन्त्रणमा लिई चेकजाँच गर्दा चालकले बोकेको कालो झोलाबाट ६ किलो र मोटरसाइकलको तेल ट्याङ्कीभित्र लुकाइएको ४ किलो ७०० ग्राम गरी जम्मा १० किलो ७०० ग्राम गाँजा बरामद गरिएको प्रहरीले दाबी गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाँउपालिका-६ बस्ने ३८ वर्षीय रबी थिङ रहेका छन् । प्रहरीले उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको छ

यस्तै, दोस्रो घटनामा प्रहरी चौकी पथलैयाको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका – १ पथलैया चोकमा हेटौँडाबाट परवानीपुरतर्फ आउँदै गरेको ना १ ह ८९६१ नम्बरको अटो रिक्सालाई रोकेर चेकजाँच गर्दा ३२ किलो गाँजा बरामद गरिएको बारा प्रहरीले दाबी गरेको छ ।

अटोभित्र लुकाइएको उक्त गाँजासहित मकवानपुरको हेटौँडा उपमहानगरपालिका(१४ बस्ने ४२ वर्षीय सोम बहादुर मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरीले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । उनलाई पनि अटोसहित कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध नियन्त्रणमा कडाइ गरेको बताउँदै यस्ता गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । दुवै घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*