पर्सा जिल्लाको छपकैया क्षेत्रबाट एक व्यक्तिलाई आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। बाल यौन शोषण सामग्री (CSAM) बनाएर आफ्नै जिमेल खाताको गुगल ड्राइभमा राखेको प्रमाण भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार, राष्ट्रिय हराएका तथा शोषित बालबालिका केन्द्र (NCMEC) बाट प्राप्त साइबर टिपलाइनको सूचनाका आधारमा अनुसन्धान सुरु गरिएको थियो। उक्त सूचनालाई साइबर ब्युरो काठमाडौँको भोटाहिटी शाखाले अगाडि बढाएको थियो।
अनुसन्धानको क्रममा तीन वटा मोबाइल नम्बर र जिमेल खाताको प्रयोग पुष्टि भएपछि प्रहरीले ती खाताको निगरानी गर्दै जाँदा अभियुक्तले आफ्नै छोरीलाई अश्लील सामग्री देखाएर बलात्कार गरेको र त्यसको भिडियो खिचेर गुगल ड्राइभमा अपलोड गरेको पत्ता लागेको हो।
पर्सा प्रहरीका डिएसपी किशोर लम्सालका अनुसार, चैत २२ गते दिउँसो ३ बजे साइबर ब्युरो र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले अभियुक्तलाई अश्लील भिडियोसहितको मोबाइल फोन सहित नियन्त्रणमा लिएको थियो।
अभियुक्तविरुद्ध बलात्कारसम्बन्धी मुद्दा र विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कानुनी कारवाही अगाडि बढाइएको छ। उनलाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो घटना बाल यौन शोषण र डिजिटल माध्यममा आपराधिक कार्य कसरी भइरहेको छ भन्ने कुराको गम्भीर उदाहरण हो।









