आइपिएलमा पञ्जाबको दोस्रो जित, घरेलु मैदानमा लखनउ ८ विकेटले पराजित

Punjab Kings’ Yuzvendra Chahal, right, bowls a delivery during the Indian Premier League cricket match between Lucknow Super Giants and Punjab Kings at Atal Bihari Vajpayee Ekana Cricket Stadium in Lucknow, India, Tuesday, April 1, 2025. (AP Photo)
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो।
लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर प्रभसिमरन सिंहले ३४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६९ रन जोडे । प्रभसिमरनले दोस्रो विकेटका लागि कप्तान श्रेयस ऐरसँग मिलेर ८४ रनको साझेदारी गरे । कप्तान ऐर ३० बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५२ रनमा नट आउट रहे ।
तेस्रो विकेटका लागि कप्तान ऐर र नेहाल बढेराले ६७ रनको विजयी साझेदारी गरे । नेहालले २५ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४३ रनमा नट आउट रहे। ओपनर प्रियासं आर्य ८ रनमा आउट भए। लखनउका लागि दुवै सफलता दिग्वेश राठीले दिलाए ।
त्यसअघि लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार गरेको थियो ।
पञ्जाबका लागि अर्शदिप सिंहले ३ तथा लकि फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को यानसन र युजभेन्द्र चहलले समान १ विकेट लिए । लगातार दोस्रो जितका साथ पञ्जाब ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । यस्तै, पराजित लखनउले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । लखनउ ३ खेलमा २ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ ।
दिल्ली क्यापिटल्ससँगको पहिलो खेल गुमाएको लखनउले दोस्रोमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो ।
प्रतियोगिता अन्तरगत आज रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्ससँग बैंगलुरुमा राति पौने ८ बजे खेल्नेछ ।










