बारामा एसइई परीक्षा अनियमितता गर्ने दुई निरीक्षकलाई जिम्मेवारीबाट हटाउने निर्णय

कोल्हवी न्यूज
२०८१ चैत्र १२, मंगलवार १५:५३ गते

बाराको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनियमितता गर्ने दुई निरीक्षकलाई पदबाट हटाउन निर्देशन जारी भएको छ ।

मङ्गलवार प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले दुई जना निरीक्षकहरूलाई पदबाट हटाउने निर्णय लिएको हो ।

महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक प्रमोद कुमार यादव र विष्णु आचार्यले परीक्षाको मर्यादा उल्लङ्घन गरेको ठहर गरिएको छ ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार, उनीहरूले गरेको अनुचित कार्यका कारण निरीक्षकको जिम्मेवारीबाट हटाउन केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ ।

“दुवै निरीक्षकलाई तत्काल जिम्मेवारीबाट हटाउन बैठकले निर्णय गरेको छ,” सहायक प्रजिअ भट्टराईले भने । आज परीक्षार्थीहरूले विज्ञान विषयको परीक्षा दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*