विवाहको प्रलोभन देखाएर पटक-पटक बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ

कोल्हवी न्यूज
२०८१ फाल्गुन २०, मंगलवार १४:११ गते

सिराहामा बलात्कारको गम्भीर आरोपमा प्रहरी जवान पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादवलाई पीडित महिलाले दुई वर्षदेखि विवाहको प्रलोभन देखाएर पटक-पटक बलात्कार गरेको उजुरी दिएपछि हिरासतमा लिइएको हो ।

घटनाले प्रहरी प्रशासनमाथि नै प्रश्न उठाएको छ । पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानमा पटक-पटक जाहेरी दर्ता गराउन खोज्दा पनि सुनुवाइ नभएको गुनासो गरेकी छन् ।

उनले इलाका प्रहरी कार्यालयका प्रमुख, डिएसपी विष्णु सोतीलाई जानकारी गराउँदा समेत कुनै कारबाही नभएको आरोप लगाएकी छन् । यद्यपि, डिएसपी सोतीले आफूकहाँ कुनै पनि महिला उजुरी लिएर नआएको भन्दै आरोपको खण्डन गरेका छन् ।

न्यायको खोजीमा पीडित महिला अन्ततः जिल्ला प्रहरी कार्यालय सिराहा पुगिन्, जहाँ उनको उजुरी दर्ता भयो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जवान यादवलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको पुष्टि गरेका छन् ।

घटनाले प्रहरीको आन्तरिक जबाफदेहिता र पीडितप्रतिको संवेदनशीलतामाथि बहस छेडेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*