च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई ५ विकेटले हरायो
च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै विजयी शुरुवात गरेको छ । समूह ‘बी’ को हिजो भएको खेलमा अस्ट्रेलिया पाँच विकेटले विजयी भयो ।
पाकिस्तानको लाहोरमा भएको खेलमा तीन सय ५२ रनको लक्ष्य अस्ट्रेलियाले ४७ ओभर तीन बलमा पाँच विकेट गुमाएर भेट्टायो । उसका जोस इंग्लिसले एक सय २० रन जोडे । एलेक्स केरीले ६९ र माथ्यु शर्टले ६३ रन जोडे । इङ्ग्ल्याण्डका आदिल राशिद, मार्क वुड, बायडेन कार्स, लियम लिभिङ्स्टोन र जोफ्रा आर्चरले समान एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५१ रन बनाएको थियो । इङ्ग्ल्याण्डका बेन डकेटले सर्वाधिक एक सय ६५ रन जोडे । उनले च्याम्पियन्स ट्रफीको इतिहासमा व्यक्तिगत सर्वाधिक रन बनाए । जो रुटले ६८ रनको अर्धशतकीय पारी खेले । अस्ट्रेलियाका बेन ड्वारशुइसले तीन, मार्नुस लाबुशेन र एडम जाम्पाले समान दुई/दुई विकेट लिए ।










