रिंकुकुमारीको मृत्यु प्रकरणमा जबरजस्ती करणीसहित चार वटा मुद्दामा अनुसन्धान सुरु
सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीय किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा जबरजस्ती करणीसहित चार वटा मुद्दामा अनुसन्धान सुरु भएको छ ।
सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनामा पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय, लहानमा चार वटा मुद्दामा आठ जनाविरुद्ध पूरक जाहेरी दर्ता गरेका थिए ।
कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार वटा शीर्षकमा पूरक जाहेरी दर्तापछि सोहीअनुसार अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।
उनले भने, ‘यस घटनाका विषयमा हामीले सुरुबाटै गहिरो अनुसन्धान गरिरहेका छौँ। पूरक जाहेरी आएपछि अब हामीलाई घटनाको सूक्ष्म अनुसन्धानका लागि झन् सहज भएको छ ।’
गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकु स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएपछि सार्वजनिक भएको थियो ।
गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । घटनाको अनुसन्धान गर्न मधेस प्रदेश प्रहरी कार्यालयले गत मङ्गलवार प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेकामा समितिले घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो ।
छानबिन समितिका संयोजक कोइरालाले घटना दबाउन ‘बार्गेनिङ’ गर्ने र पञ्चायती बस्ने हाल फरार रहेका बताए । उनले भने, ‘घटना मिलाउन भूमिका खेलेका भनिएका अधिकांश व्यक्ति फरार छन् । भिडियो/फोटाबाट पहिचान गरेर खोजी गरिरहेका छौँ ।’
रिंकुका बुबा बिजुलिया सदा छोरीको मृत्युपछि परिवारजन शोकमा डुबेको र विभिन्न पक्षबाट डर–त्रास दिन काम भइरहेको गुनासो गरे ।
यसैबिच घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्न सिराहास्थित विभिन्न सामाजिक सङ्घसंस्थाले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा बिहीबार ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्रमा पीडित परिवारलाई अझै निरन्तर धाक, धम्की, डर त्रास देखाउने काम भइरहेकाले तत्काल भयरहित वातावरणमा बस्ने वातावरण बनाउन आग्रह गरिएको छ ।
मृतकका परिवारलाई भेट्न पुगेका मधेस प्रदेशका गृह, सञ्चार तथा कानु नमन्त्री राजकुमार लेखेली दोषीलाई कानुनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।










