तोकिएको दण्ड सजाय भुक्तान नगरी फरार दुई जना प्रतिवादी पक्राउ
प्रहरीले बारा जिल्ला अदालत, कलैयाबाट तोकिएको दण्ड सजाय भुक्तान नगरी फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई खोजतलास गरी लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बारा जिल्लाको कलैया उपमहानगरपालिका-६ का ३० वर्षीय आनन्द तिवारी र ३५ वर्षीय अशोक कुमार गुप्ता रहेका छन्। दुवैजनालाई चेक अनादर मुद्दामा अदालतले दोषी ठहर गर्दै तिवारीलाई रु. ५०० जरिवाना तथा गुप्तालाई रु. ३०० जरिवाना तोकेको थियो।
फरार रहेका उनीहरूलाई मिति २०८१ फागुन २ गते पक्राउ गरी बारा जिल्ला अदालत, कलैयामा दाखिला गरिएको प्रहरीले जनाएको छ। प्रहरीले कानूनी कारबाहीलाई प्रभावकारी बनाउन निरन्तर खोजतलास जारी राखेको बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।










