चीनः सिचुवानमा पहिरोमा परी कम्तीमा ३० वेपत्ता, करिब २०० जना विस्थापित

कोल्हवी न्यूज
२०८१ माघ २७, आईतवार ०७:२६ गते

चीनको सिचुआन प्रान्तमा शनिबार गएको पहिरोमा १० घर पुरिँदा ३० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

पहिरोस्थलबाट करिब २०० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

यिबिन शहरको जुनलियन काउन्टीमा रहेको जिनपिङ गाउँमा बिहान ११ः५० बजे पहिरो गएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

चिनियाँ समाचार संस्था सीसीटीभीले स्थानीय अधिकारीलाई उद्धृत गरी लेखेको समाचारमा भनिएको छ, “पहिरोले करिब १० वटा घर पुरेको छ भने ३० जनाभन्दा बढी हराइरहेका छन् । पहिरोको जोखिम रहेको पहिरो वरपरको क्षेत्रबाट करिब २०० जनालाई सुरक्षित स्थानमा सारिएको छ।”

घटनास्थलमा रहेका उद्धारकर्तालाई उद्धृत गर्दै सरकारी प्रसारकले भनेको छ, “समाचार तयार पार्दासम्म पहिरो अझै नरोकिएकोले पहिरो क्षेत्रमा नजान स्थानीय सर्वसाधारणलाई निर्देशन दिइएको छ ।”

चीनका राष्ट्रपति सी चिनफिङले अधिकारीहरूलाई ‘हराइरहेका व्यक्तिहरूको खोजी र उद्धार गर्न, हताहतहरू कम गर्न र त्यसपछिको स्थितिलाई उचित तरिकाले व्यवस्थापन गर्न’ निर्देशन दिनुभएको छ ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन मन्त्रालयले एक अनलाइन पोस्टमा दुई जना पहिरोबाट सकुशल उद्धार गरिएको उल्लेख गरेको छ ।

आपतकालिन प्रतिक्रिया टोलीहरू जीवित व्यक्तिहरूको खोजीमा घटनास्थलमा पुगी काम गरिरहेको बताइएको छ। अधिकारीहरूले उद्धार र राहत प्रयासलाई सहयोग गर्न तीन करोड युआन (४१ लाख अमेरिकी डलर) पनि विनियोजन गरिएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*