महाकुम्भ मेलामा भागदौड, कम्तीमा १५ को मृत्यु, दर्जनौँ घाइते

कोल्हवी न्यूज
२०८१ माघ १६, बुधबार १५:१२ गते

उत्तर प्रदेशको प्रयागराजमा भइरहेको महाकुम्भ मेलामा “मौन अमावस्या”का अवसरमा गङ्गा स्नानका लागि आएका लाखौँ श्रद्धालुमध्ये भीडको अत्यधिक चापका कारण भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको आशङ्का गरिएको छ । दर्जनौँ घाइते भएका छन् ।

मौन अमावस्या हिन्दु धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र दिनमध्ये एक मानिन्छ, जसमा लाखौँ भक्तजन पवित्र गङ्गा स्नानका लागि उपस्थित हुन्छन् । बिहानैदेखि सङ्गम घाटमा तीव्र भीड देखिएको थियो ।

प्रशासनले भिड नियन्त्रण गर्न प्रयास गरिरहे पनि स्नान गर्ने भक्तजनहरूको चाप निरन्तर बढ्दै जाँदा अवस्था जटिल बन्दै गयो । सुरक्षाकर्मीहरूले सार्वजनिक उद्घोषण प्रणालीबाट घाट खाली गर्न अपिल गरिरहेका थिए, तर अत्यधिक सङ्ख्यामा भक्तजनहरू एकै ठाउँमा जम्मा भएपछि भागदौड मच्चियो ।

स्थानीय अधिकारीहरूका अनुसार, भागदौडपछि १५ शवहरू अस्पतालमा ल्याइएको छ, भने कैयौँ घाइतेको उपचार जारी छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन वार्ता गरेका छन् । उनले घाइतेहरूको शीघ्र उपचार र मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् । मोदीले घटनालाई गम्भीर रूपमा लिँदै राहत तथा उद्धार कार्यलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

भागदौडपछि प्रमुख साधु-सन्तहरूको अखाडाले मौन अमावस्याको ‘अमृत स्नान’ स्थगित गरेको छ । यद्यपि, सर्वसाधारण भक्तजनहरू भने घाटमा स्नान गरिरहेका छन् ।

महाकुम्भ मेलामा भीड नियन्त्रण गर्न हजारौँ सुरक्षाकर्मी, सिसिटिभी निगरानी प्रणाली र ड्रोन प्रविधि प्रयोग गरिएको छ । मेलाको क्षेत्रलाई अस्थायी रूपमा चार पाङ्ग्रे सवारीसाधन मुक्त क्षेत्र घोषणा गरिएको छ ।

यस घटनापछि प्रशासनले श्रद्धालुहरूलाई संयमित रहन आग्रह गरेको छ र घाटहरूमा भिडभाड नगर्न अपिल गरेको छ ।

महाकुम्भ मेला २०२५ जनवरी १३ देखि सुरु भई फेब्रुअरी २६ (महाशिवरात्रि) सम्म चल्नेछ । हालसम्म मेलामा १५ करोडभन्दा बढी भक्तजनले सङ्गममा स्नान गरिसकेका छन् ।

यस दर्दनाक घटनासँगै मेलाको व्यवस्थापन र सुरक्षा उपायहरू पुनः समीक्षा गर्ने आवश्यकताबारे चर्चा सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*