बारामा प्रहरीले स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ

फाइल तस्बिर
प्रहरीले बाराबाट स्रोत नखुलेको नगदसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ दोहरी टोलका ३२ वर्षीय अनिल पटवारी थारु र वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओमप्रकाश यादव रहेका छन्।
इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले म.प्र.०३\००१ च ८०७३ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएको हो। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पैनी टोलस्थित सडकमा रोकिएको पिकअप गाडीमा तलासी गर्दा नगद १० लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पक्राउ परेका दुवैजनाले उक्त रकमको स्रोतबारे कुनै स्पष्ट जानकारी दिन नसकेको र अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले बताएको छ। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ।
प्रहरीका अनुसार स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवै व्यक्तिको पृष्ठभूमि र रकमको स्रोत पत्ता लगाउन थप अनुसन्धान जारी रहेको छ। यस घटनाले अवैध कारोबारविरुद्ध प्रहरीको निगरानी र सक्रियता झल्काएको छ।










