बाराको आमाडार-रमौली सडकमा कारभित्र एकजना मृत अवस्थामा फेला, घटना शंकास्पद
बाराको आमाडार-रमौली सडक खण्डमा शनिवार बिहान कारभित्र एक पुरुषको शव बरामद भएको छ ।
जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-११ अन्तर्गत पर्ने सडक खण्डमा शनिवार बिहान कारभित्र एक अज्ञात पुरुषको शव फेला परेको छ ।
बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारभित्र भेटिएको शवको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । मृतक पुरुषको पहिचान भने खुल्न सकेको छैन ।
स्थानीयवासीले मृतकको टाउकोमा गोली लागेको दाबी गरेका छन् । तर, घटनाबारे आधिकारिक पुष्टि नभइसकेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप जानकारी लिन बारा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्का र जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक (इन्स्पेक्टर) बलराम श्रेष्ठलाई सम्पर्क गर्दा फोन उठेन ।
घटनास्थलमा अनुसन्धान कार्य सुरु भएको र शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।