सिरियाको पुनर्निर्माणका लागि विश्वले प्रतिबन्धको ‘पुनर्मूल्याङ्कन’ गर्नुपर्छ : राष्ट्रसङ्घ

कोल्हवी न्यूज
२०८१ पुष ६, शनिबार ०६:५१ गते

राष्ट्रपति बशर अल–असदको पतनपछि देशको पुनर्निर्माणमा मद्दत गर्न सिरियामाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको पुनः मूल्याङ्कन गर्नुपर्ने संयुक्त राष्ट्रको आप्रवासन एजेन्सीका प्रमुखले शुक्रबार बताउनुभएको छ ।

एमी पोपले सिरियाका महिलाहरूलाई नयाँ समाज निर्माण गर्न र विध्वंस भएको राष्ट्रमा स्थिरता ल्याउन पूर्ण भूमिका खेल्न सशक्त बनाउनुपर्ने पनि बताउनुभयो ।

असदलाई बहिर्गमन गराउने तीव्र आक्रमणको नेतृत्व हयात ताहरिर अल–शाम (एचटिएस) ले गरेको थियो । यो अल–कायदाको सिरिया शाखामा निहित छ तर हालै यसले मध्यम स्वर अपनाएको छ ।

नयाँ अधिकारीहरूले आफ्नो शक्ति कसरी प्रयोग गर्छन् भन्ने हेर्न पर्खंदै अन्तर्राष्ट्रिय समुदायले सिरिया वा एचटिएसका सदस्यहरूमाथिको प्रतिबन्ध हटाउन कुनै हतार गरेको छैन ।

“प्रतिबन्धहरूको सन्दर्भमा हामी वास्तवमै सबै प्रतिबन्धहरूको बारेमा कुरा गरिरहेका छौँ ः संयुक्त राष्ट्र प्रतिबन्ध, अमेरिकी प्रतिबन्ध, अन्य प्रतिबन्ध”, आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुख पोपले सिरियाको भ्रमण गरेपछि भन्नुभयो । “तपाईं देख्न सक्नुहुन्छ कि समग्रमा प्रतिबन्धहरूले विशेष गरी कमजोर जनसङ्ख्यामा निकै महत्त्वपूर्ण प्रभाव पारेको छ । त्यसैले स्थितिको पुनर्निर्माण गर्न ती प्रतिबन्धहरूको पुनर्मूल्याङ्कन गर्नु आवश्यक हुनेछ”, जेनेभामा पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मानिससँग ऋणमा पहुँच छैन । तिनीहरू नगदमा धेरै निर्भर छन् । मानिसहरूले कामका लागि पाइरहेका तलबहरू अत्यन्त कम छन् ।”

असदको पतनले दशकौँ लामो दुर्व्यवहार र वर्षौं लामो गृहयुद्धको अन्त्य गर्यो तर यसले अल्पसङ्ख्यकहरूको अधिकारका साथै महिला र अर्ध–स्वायत्त कुर्दिश क्षेत्रको भविष्यको बारेमा चिन्ता बढाएको छ ।

दमास्कसमा बिहीबार सयौँ प्रदर्शनकारीले लोकतन्त्र र महिला अधिकारको माग गरे । असदको बहिर्गमनपछिको यस्तो पहिलो विरोध प्रदर्शन थियो ।

पोपले भन्नुभयो, “हामी… कार्यवाहक सरकारलाई महिलाहरूलाई सशक्त र सक्षम बनाउन जारी राख्न दृढतापूर्वक आग्रह गरिरहेका छौँ किनभने उनीहरू देशको पुनर्निर्माणका लागि पूर्ण रूपमा महत्त्वपूर्ण हुनेछन् ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*