भारतीय विमानमा बम राखिएको भन्दै यो वर्ष झन्डै एक हजार पटक धम्की प्राप्त
यो वर्ष भारतीय एअरलाइन्समा झन्डै एक हजार पटक बमको धम्की आएको छ । यो वर्षको नोभेम्बर १४ सम्म भारतका एअरलाइन्स र विमानस्थलमा बम राखेको भन्दै ९ सय ९९ पटक नक्कली धम्की प्राप्त भएको देशका उप–नागरिक उड्डयनमन्त्रीले संसद्लाई बताएका बीबीसीले जनाएको छ ।
यो गएको वर्ष प्राप्त धम्कीभन्दा झन्डै १० गुणाले बढी रहेको उप–नागरिक उड्डयनमन्त्री मुरलीधर मोहलले बताउनुभएको छ । अक्टोबरको अन्तिम दुई हप्तामा ५ सयभन्दा धेरै पटक धम्की प्राप्त भएको खबरमा उल्लेख छ ।
बम राखेको भन्दै धम्की आउने क्रम बढेसँगै भारतीय एअरलाइन्सहरूको उडान तालिका अस्तव्यस्त बनेको थियो, हवाई सेवामा व्यापक अवरोध उत्पन्न भएको थियो । पछिल्ला धम्कीहरू सबै झुटा रहेका र भारतको कुनै पनि विमानस्थल र विमानमा खतरा नभेटिएको उप–नागरिकमन्त्री मोहलले भन्नुभयो । भारतीय प्रहरीले यी घटनामा दुई सय ५६ वटा उजुरी दर्ता गरेको र १२ जनालाई पक्राउ गरेको बीबीसीको खबरमा उल्लेख छ ।
सन् २०१४ र २०१७ का बीचमा विमानस्थलहरूमा बम राखिएको भन्ने एक सय २० वटा धम्की वा सूचना प्राप्त भएका भारतीय अधिकारीहरूले बताएका छन् । तीमध्ये आधाजति दिल्ली र मुम्बईजस्ता भारतका ठूला विमानस्थल लक्षित थिए ।
नागरिक उड्डयन मन्त्रालयका अनुसार गएको वर्ष भारतमा १५ करोड जनाभन्दा धेरै यात्रुले आन्तरिक उडान गरेका थिए । देशभरि ३३ अन्तर्राष्ट्रियसहित सञ्चालनमा रहेका एक सय ५० वटा विमानस्थलबाट दैनिक तीन हजार उडान हुने गर्छन् ।एजेन्सी










