सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार प्रदान गर्ने

कोल्हवी न्यूज
२०८१ मंसिर १०, सोमबार १६:५५ गते

त्रिमूर्ति निकेतनले रामबाबु सुवेदी, प्रा. डा. सावित्री कक्षपती र प्रा. डा. बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले ६ दशकदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्द कविताको रचना एवम् छन्द काव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्ने सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको त्रिमूर्ति निकेतनले जनाएको छ ।

यस्तै नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्त्वपूर्ण दस्तावेज प्रस्तुत गर्नुका साथै नेपाली भाषा साहित्यको सेवामा मन, वचन र कर्मले समर्पित भई विशिष्ट योगदान गरेबापत प्रा. डा. कक्षपतीलाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिने भएको छ ।

त्यसैगरी नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि ६ दशक अघिदेखि काव्य साधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदानका निम्ति प्रा. डा. शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ ।

ताम्रपत्रका साथै यी तीन वटै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*