जीवन साथी खोजिदिने भारतीय अनलाइन सेवा प्रदायक ‘म्याट्रिमोनी डटकम’ले विवाह कर्जा दिने

कोल्हवी न्यूज
२०८१ मंसिर ८, शनिबार १५:२६ गते

 जीवन साथी खोजिदिने भारतीय अनलाइन सेवा प्रदायक ‘म्याट्रिमोनी डटकम’ले विवाहका लागि कर्जा दिने वित्तीय प्रविधि प्लाटफर्म सञ्चालनमा ल्याएको छ । हालै आयोजित कार्यक्रममा कम्पनीले विवाह कर्जा प्रदान गर्नलाई ‘वेडिङ लोन्स डटकम’ सुरु गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विवाहका लागि वित्तीय सहायता उपलब्ध गराउन म्याट्रिमोनीले आईडीएफसी, टाटा क्यापिटल, लार्सन एन्ड ट्युब्रो फाइनान्सजस्ता भारतका अग्रणी वित्तीय संस्थासँग सहकार्य गरेको छ । ‘कर्जा दिनेबाहेक हाम्रो प्लाटफर्मले ग्राहकहरूलाई विवाहसम्बन्धी वित्तीय व्यवस्थापनमा सही निर्णय लिन सहयोग गर्नेछ,’ म्याट्रिमोनीले विज्ञप्तीमा भनेको छ, ‘ग्राहकहरूको हितलाई पूर्ण रूपमा सुरक्षित गर्न हाम्रो पारदर्शी प्रक्रियाले मद्दत गर्नेछ ।

सुखद दाम्पत्यको प्रवेशमार्गका रूपमा म्याट्रिमोनी डटकमले विगत दुई दशकदेखि सेवा दिइरहेको कम्पनीको दाबी छ । उपयुक्त जीवनसाथीको खोजीका लागि लाखौंले म्याट्रिमोनी एप र वेबसाइट प्रयोग गर्ने गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मुरुगभेल जनकिरामनले इकोनमिक टाइम्ससँग भनेका छन् । ‘वेडिङ लोन्स डटकममार्फत अब हामी हाम्रो सेवा विस्तार गर्दै विवाहको तयारी, बजेटिङ र प्रक्रियालाई थप सरल बनाउन खोज्दै छौं,’ उनको भनाइ छ ।

वेडिङ लोन्सको वेबसाइटमा भनिएअनुसार भारतमा पछिल्लो समय थुप्रै जोडीहरूले आफ्नो विवाहका लागि व्यक्तीगत कर्जा सुविधा लिने गरेका छन् । विगत एक दशकयता विवाहको खर्च निरन्तर बढिरहेको छ र सामाजिक सञ्जालहरूले विवाह समारोहलाई थप भव्य र लम्ब्याइरहेको हुँदा खर्च बढेको वेडिङ लोन्स डटकमको ठम्याइ छ । वेबसाइटमा भनिएअनुसार व्यक्तीको क्रेडिट हिस्ट्री र वित्तीय अवस्था हेरेर ऋणदाता संस्थाले ३ देखि ५ वर्षभित्रमा तिरिसक्नुपर्ने गरी ५० हजार डलर (करिब साँढे ६७ लाख रुपैयाँ) सम्म कर्जा दिन सक्छन् ।

भारतमा विभिन्न बैंक तथा वित्तीय संस्थाले विवाह कर्जा दिने गरेका छन् । एचडीएफसी बैंकको पर्सनल लोन प्रोडक्ट सुविधाअन्तर्गत ५० हजारदेखि ४० लाख भारतीय रुपैयाँ विवाह कर्जा पाइने बैंकको वेबसाइटमा उल्लेख छ । यो कर्जा बैंकले १२ देखि ६० महिनाका लागि दिने गरेको छ । मासिक पारिश्रमिकका आधारमा कर्जा दिने भएकाले यसका लागि धितो आवश्यक नपर्ने भनिएको छ ।

त्यस्तै, बजाज सहकारीले पनि २० हजारदेखि ४० लाख भारु विवाह कर्जा दिने गरेको छ । आईसीआईसीआई बैंकले १०.८५ प्रतिशत वार्षिक ब्याजमा ५० हजारदेखि ५० लाख भारुसम्म विवाह कर्जा दिने बैंकको वेबसाइटमा उल्लेख छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*