भारतीय ग्याङ्स्टार र दुर्गा प्रसाईंको नाम लिएर व्यवसायीसँग करोडौं माग, विदेशबाट आएको साढे १० करोडबारे पनि अनुसन्धान चल्दै

कोल्हवी न्यूज
२०८१ मंसिर ५, बुधबार १६:४१

भारतीय ग्याङ्स्टारको नाम लिएर नेपाली व्यवसायीलाई पनि धम्की दिइएको पाइएको छ ।

भारतीय कुख्यात गुन्डा नाइके लरेन्स बिश्नोईको नाम लिएर नेपालका उद्योगी व्यवसायीलाई धम्की दिइएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी परेको हो ।

भारतीय र दुबईको फोन नम्बरबाट बारम्बार धम्की आएको भन्दै चार बैंकर तथा उद्योगी प्रहरीमा उजुरी लिएर पुगेका छन् ।

उनीहरूले कल रेकर्डसहित दिएको उजुरीमा फोन गर्नेले आफूलाई लरेन्स बिश्नोईको समूहका सदस्य बताएका छन् ।

प्रसाईंको नाम लिएर धम्की, कनेक्सन खोज्दै सीआईबी

कतिपय व्यापारीलाई मेडिकल व्यवसायी समेत रहेका ‘भाइरलम्यान’ दुर्गा प्रसाईंको नाम लिएर समेत धम्की आएको पाइएको छ ।

भक्तपुर बस्ने झापाका विवादास्पद मेडिकल व्यवसायी प्रसाईं मंगलबार पक्राउ परेका छन् । झुठा कागज बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको भन्दै उनलाई सीआईबीले नियन्त्रणमा लिएको हो । उनी एक वर्षकै अवधिमा तीनपटक पक्राउ परिसके ।

प्रसाईंमाथि विभिन्न व्यक्ति प्रयोग गरी अरूलाई धम्क्याएर रकम असुली गरी आपराधिक लाभ लिएको कसुरमा समेत अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ ।

‘दुर्गा प्रसाईंको मान्छे हुँ’ भन्दै विभिन्न व्यक्तिले बैंकर र व्यवसायीलाई धम्क्याएर रकम मागेको जाहेरी सीआईबीमा परेको छ । ‘नाम लिएर अरूले धम्काएको हो वा उनी नै संलग्न छन् भन्ने आधारहरू खोज्दैछौँ,’ सीआइबी स्रोतले भन्यो ।

प्रहरीले प्रसाईंको निवास खानतलासी गरेर तीन वटा ल्यापटप र पाँचवटा मोबाइल समेत लगेको छ ।

विद्युतीय अपराध नियन्त्रण ऐन विपरीतको कसुर मुद्दामा अनुसन्धानसँगै धम्काउने व्यक्तिसँगको कनेक्सन खोज्ने प्रहरीको तयारी छ ।

प्रसाईं र लरेन्स विश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै उजुरी परेको एसपी होविन्द्र बोगटी बताउँछन् । उनले भने, ‘विदेशी नम्बरबाट फोन गरेर धम्की दिइएको भन्दै पहिल्यै उजुरी परेको थियो । अनुसन्धान जारी छ ।’

ग्याङ्स्टार ‍लरेन्स विश्वनोई भने भारतको जेलमा छन् ।  उनको समूहले डेढ महिनाअघि मात्रै सलमानसँगको सम्बन्धका रहेका महाराष्ट्रका नेता बाबा सिद्दिकीको हत्या गरेको थियो । सिद्दिकीको हत्यापछि अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ ।

अनुसन्धान अधिकृतका अनुसार, नेपालमा दिइएका धम्कीमा पनि उनको संलग्नता भएजस्तो देखिँदैन । उनको नाम लिएर अरू कसैले धम्क्याएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको छ ।

प्रसाईं र आफन्तको खातामा कसरी आयो साढे १० करोड

प्रसाईंको नाम लिएर विभिन्न व्यापारी तथा बैंकरलाई धम्क्याएको उजुरी परेपछि प्रहरीले उनीसहित आफन्तको खातामा विदेशबाट १० करोड रुपैयाँ आएको विषयमा पनि अनुसन्धान भइरहेको छ ।

राष्ट्र बैंकले पनि विदेशबाट शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धान गर्न सीआईबीमा पत्र पठाएको छ ।

विभिन्न देशबाट प्रसाईं र उनका आफन्त/नातेदारका खातामा सन् २०२१ यता साढे १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आएको देखिएको छ ।

राष्ट्र बैंकले प्रसाईं र उनका आफन्तका नाममा विदेशबाट भएको शंकास्पद कारोबारबारे अनुसन्धान गर्न महिना दिनअघि नै सीआईबीलाई पत्राचार गरेको छ ।

अहिले प्रसाईंसहित उनी समर्थक १० जनालाई पनि हिरासतमा लिइएको छ । देवी सङ्ग्रौला, यदुनाथ सिग्देल, बलबहादुर तामाङ, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदीप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुल्सी विक र रमेश सिंह छन् । अरू केही अझै फरार रहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*