वीरगञ्जबाट प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ् टोलीले वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २६६६ नम्बरको सार्बजनिक बसलाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
उनकाअनुसार बसमा सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ निवासी २३ वर्षीय राज महमद देवानले सेतो बोराभित्र म्याटले फोल्ड गरेको ब्लाङ्केटभित्र कालो प्लाष्टिकमा लुकाईछिपाई राखिएको अवस्थामा लागुऔषध बरामद भएको हो ।
देवानको साथबाट नुरफिन एक हजार १९५ पिस, डाइजेपाम १२ सय पिस, फेनारगन एक हजार १८५ पिस गरी जम्मा तीन हजार ५८० एम्पुल लागुऔषध बरामद भएको छ ।
देवानलाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।