चितवनमा बस र माइक्रोबस ठोक्किँदा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुल्यो
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलोमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुलेको छ ।
बिहान ३ बजे नारायणगढतर्फ गुडिरहेको विद्युतीय माइक्रोबस र मुग्लिनतर्फ गुडिरहेको बस ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी ज्यान गुमाउनेमा माइक्रो चालक चितवनको खैरहनी नगरपालिका–४ का अनोज अधिकारीसहित माइक्रोमै रहेका गोरखाको आरुघाट गाउँपालिका–५ का राजबहादुर गुरुङ, भारत घर भई पोखरा बस्ने राजकुमार साह, नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–४ का सन्तोष भुसाल र सबिना भुसाल रहेका छन् । मृतकका आफन्तहरूले अस्पताल पुगेर शव पहिचान गरेका हुन् ।
माइक्रोमा रहेका एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का सूर्य विक्रम विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।