सशस्त्र प्रहरी पर्साले प्रतिबन्धित लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ
सशस्त्र प्रहरी बल पर्साले प्रतिबन्धित लागूऔषधसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी वीरगञ्जस्थित गुल्मबाट खटिएको चेक प्वाइन्ट टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका-१६, भन्सार मेन गेट क्षेत्रमा चेकजाँच गर्ने क्रम भारतबाट नेपाल प्रवेश गर्दै गरेका दुई व्यक्तिको शरीरमा लुकाएर राखिएको अवस्थामा ठूलो मात्रामा लागूऔषध बरामद गरेको हो ।
पक्राउ परेका भारतीय नागरिकहरूमा पूर्वी चम्पारण, रघुनाथपुर ग्राम पञ्चायत-१ निवासी २५ वर्षीय सत्यम शर्मा र आमुदेही ग्राम पञ्चायत-३ निवासी २४ वर्षीय कैस अली रहेको प्रहरीले जानकारी दिएको छ ।
चेकजाँचको क्रममा उनीहरूको शरीरमा डाईजापाम, नोर्फिन, र प्रोमेफाजिन जस्ता प्रतिबन्धित औषधिहरू लुकाएर ल्याइएका थिए । प्रहरीले उक्त लागूऔषधमध्ये डाईजापाम २ एमएलका १०० एम्पुल, नोर्फिन २ एमएलका १०० एम्पुल र प्रोमेफाजिन २ एमएलका १०० एम्पुल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलले पक्राउ परेका दुवै व्यक्तिलाई लागुऔषधसहित आवश्यक कानुनी कारवाहीका लागि नेपाल प्रहरीलाई जिम्मा दिएको छ । प्रहरीले सीमा क्षेत्रबाट लागूऔषधको तस्करी रोक्न थप निगरानी बढाउने बताएको छ ।