बारा गढीमा चिरान काठसहित तीन जना पक्राउ, स्कटिङ्ग गर्नेहरू फरार

कोल्हवी न्यूज
२०८१ कार्तिक १२, सोमबार १२:४७ गते

बारागढीस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शनिवार राति चिरान काठ लोड गरिएको पिकअपसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्तिहरूमा करैयामाई गाउँपालिका-७ पिपराका ४० वर्षीय हरिभजन चौधरी, ३५ वर्षीय रामप्रताप चौधरी, र वडा नं. ५ तेतरियाका २७ वर्षीय दिपनारायण चौधरी रहेको डिभिजन वन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।

प्रहरीका अनुसार काठ लोड गरिएको पिकअप (ना ३ च १९०१) लाई मोटरसाइकलमार्फत स्कटिङ्ग गर्दै गरेका विश्वास चौधरी, श्रवण कुमार धामी, र अफताब चौधरी भने फरार भएका छन् । तर, स्कटिङ्गमा प्रयोग गरिएको मोटरसाइकल (म.प्र. ०३.०२८प ५०१४) भने वन गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।

अनुसन्धानका क्रममा काठ करैयामाई गाउँपालिका-७ पिपरामा रहेको श्रवणको मिलबाट लोड गरिएको खुल्न आएको छ । पिकअप पोखरिया र भवानीपुरको बिचमा रोकिएको अवस्थामा फर्निचर उद्योगका लागि लंगडा चोकतर्फ गइरहेको बेला पक्राउ गरिएको हो ।

डिभिजनल रेन्जर अक्दुल करिमका अनुसार पिकअपबाट ७३ थान सिसौंका चिरान काठ (२०.६ क्युफिट) र ३५ थान सालका चिरान काठ (२०.५८ क्युफिट) बरामद गरिएको छ । कुल काठ ४१.५८ क्युफिटको रहेको बताइएको छ ।

पक्राउ परेका तीन जना, पिकअप र बरामद काठलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, बारा बुझाइएको छ ।

फरार रहेका विश्वास चौधरी, श्रवण कुमार धामी र अफताब चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । वन सम्पदाको तस्करीमा संलग्न सबैमाथि कडा कारबाही गरिने चेतावनीसमेत प्रहरीले दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*