बारामा अज्ञात समूहद्वारा एक पुरुषको हत्या

२०८१ कार्तिक ११, आईतवार ०६:४४
बारामा अज्ञात समूहले एक जनाको हत्या गरेको छ । महागढीमाई नगरपालिका–१ मा धारिलो हतियार प्रयोग गरी स्थानीय ५५ वर्षीय नारायण यादवको शनिवार हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । बटुवाले देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।
गम्भीर घाइते यादवलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । यादवको हत्याबारे केही खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।