जानकी सामुदायिक वनका अध्यक्षको घरबाट हरिणको मासु बरामद
सर्लाहीको जानकीनगरस्थित जानकी सामुदायिक वनका अध्यक्षको घरबाट हरिणको मासु बरामद भएको छ ।
हरिपुर नगरपालिका–१ जानकीनगर नाखा टोलस्थित जानकी सामुदायिक वनका अध्यक्ष दिनेश विक र छिमेकी हरिनारायण महराको घरबाट हरिणको मासुसहित बन्दुक बरामद गरिएको हो ।
सुराकीका आधारमा डिभिजन वन कार्यालय लालबन्दीबाट खटिएको टोलीले अध्यक्ष विकको घरबाट २ केजी तथा हरिनारायणको घरबाट १३ केजी हरिणको मासु बरामद गरेको डिभिजन वन कार्यालयका प्रमुख सन्तोषकुमार झाले बताए । खानतलासीका क्रममा हरिनारायणको बारीमा लुकाइराखिएको एक थान भरुवा बन्दुक, एक थान खुकुरी पनि बरामद भएको उनले जानकारी दिए । भरुवा बन्दुकमा ‘टर्च लाइट’ जडान गरिएको छ । सिकार गर्न लाइट राखिएको हुन सक्ने वन कर्मचारीहरुले बताए ।
वनका अध्यक्ष विकसहित छिमेकी महरा भने फरार छन् । उनीहरुको खोजतलास भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका प्रमुख झाका अनुसार बरामद हतियार डिभिजन वन कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ । बरामद हरिणको मासु भने जनप्रतिनिधिको रोहबरमा खाल्डो खनेर पुरिएको छ ।इकान्तीपुरबाट ।