बारामा चाडपर्व नजिकिदै गर्दा चोरीका घटनाहरु बढ्दै, एक रातमा तीन स्थानमा चोरी
बारामा चाडपर्व नजिकिदै गर्दा चोरीका घटनाहरु बढ्न थालेका छन्। मंगलबार राति जिल्लाका तीन ठाउँमा चोरीका घटना घटेका छन्, जसले स्थानीय बासिन्दालाई त्रसित बनाएको छ।
कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मटिअर्वामा रहेको श्रीपती ज्वेलर्स मा अज्ञात समूहले चोरी गरेको छ। पसलका संचालक बिरजु साह सोनारका अनुसार, चोरहरूले पसलबाट करिब २३ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका छन्। चोरी भएका सामाग्रीमा ६ लाख ३० हजार रुपैयाँ नगद, २.५ तोला सुन, ५ किलो चाँदी, र ६ लाख ६३ हजार रुपैयाँको धरौटीको सामान रहेका छन्।
त्यस्तै, कलैया उपमहानगरपालिका वडा नम्बर ८ स्थित खपरत्तता फन पार्क प्राङ्गणमा रहेको खानेपानी ट्याङ्कीको ५० के.भी ट्रान्सफर्मर चोरी भएको छ। ट्रान्सफर्मरको मूल्य करिब ६ लाख ५० हजार रुपैयाँ रहेको छ, जसमा ११ हजार भोल्टेजको करेन्ट सप्लाई गरिएको थियो। वडा नम्बर ८ का अध्यक्ष रञ्जित चौरसियाका अनुसार, खानेपानीको उक्त ट्रान्सफर्मर निजी स्वामित्वमा रहेको थियो।
अर्को घटना बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित शान्ता श्रेष्ठको घरमा भएको छ। चोरीका यस्ता घटनाहरुले जिल्लावासीलाई चिन्तित बनाएको छ।
प्रहरी अनुसन्धानमा सक्रिय
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले विशेष अनुसन्धान टोली परिचालन गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। चाडपर्वलाई लक्षित गरी चोर समूहहरु सक्रिय भएकाले प्रहरी गस्ती र निगरानीलाई थप प्रभावकारी बनाउन जिल्लावासीले आग्रह गरेका छन्।