४७ हजार बराबरको नक्कली नोटसहित रौतहटबाट दुई जना पक्राउ
नेपाली नक्कली नोटसहित दुई जना रौतहटबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा रौतहटको गढीमाई नगरपालिका–५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय रहेको प्रहरीले जनाएको छ।
दुवै जना बिआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकलमा सवार भई चपुरबाट गौरतर्फ जाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा उनीहरुको साथबाट एक हजार दरका ४७ थान नेपाली नक्कली नोट बरामद गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।