इरानले क्षेप्यास्त्र प्रहारको ‘मूल्य चुकाउने’ इजरायली प्रधानमन्त्रीकाे चेतावनी

कोल्हवी न्यूज
२०८१ आश्विन १६, बुधबार १६:३९ गते

 इरानले आफ्नो भूमिमा क्षेप्यास्त्र प्रहार गरेसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ‘ठूलो गल्ती गरेको र त्यसको मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका छन् ।

इजरायलले लेबनानस्थित लडाकू समूह हेजबुल्लाहलक्षित आक्रमणलाई तीव्रता दिएसँगै इरानले मंगलबार इजरायलमा १ सय ८० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

त्यसको प्रतिक्रियामा नेतान्याहुले इजरायलमाथि आक्रमण गर्नेलाई नछाड्ने चेतावनी दिएका बीबीसीले जनाएको छ । ‘हामीहरू हामीले बनाएका नियममा दृढ छौं । जसले हामीलाई आक्रमण गर्छ त्यसलाई हामीले पनि आक्रमण गर्छौ,’ नेतान्याहुले भनेका छन् ।

इरानले इजरायलतर्फ प्रहार गरेका १ सय ८० वटा क्षेप्यास्त्रमध्ये अधिकांशलाई इजरायली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरेको जनाइएको छ । केही क्षेप्यास्त्र भने इजरायली जमिनमा खसेका थिए । त्यसका कारण केही रेस्टुराँ र विद्यालयमा क्षति पुगेको जनाइएको छ । इजरायली रक्षा फौज (आईडीएफ) का अनुसार अधिनस्थ वेस्ट ब्यांकमा एकजना प्यालेस्टिनीको ज्यान गएको छ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले भने मंगलबार इजरायलमाथि गरिएका आक्रमण आफ्नो देशको अधिकार भएको र त्यो इरान र यस क्षेत्रको शान्ति र सुरक्षाका उद्देश्यले गरिएको बताएका छन् ।

उनले नेतान्याहुलाई सम्बोधन गर्दै इरानसँग युद्ध उन्माद नभएको तर जुनसुकै खतराविरुद्ध खडा हुने कुरा इजरायली प्रधानमन्त्रीले बुझ्नुपर्ने बताएका छन् । इरानले आफ्नो सैन्य क्षमताको केही झलक मात्र देखाएको उनको भनाइ छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले इरानले आफ्नो सैन्य कारबाही पूरा गरेको तर इजरायलले जबाफी कारबाही गरेको खण्डमा थप आक्रमण गर्ने जनाएका छन् । इजरायलका साझेदारहरूले भने इरानका कारण दशौं लाख मानिसहरू बमबाट सुरक्षित रहन बनाइएका आश्रयस्थलमा पुग्न बाध्य भएको भन्दै निन्दा गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*