डुबेर मृत्यु हुने बालबालिकाको संख्या बढ्दै, मधेशमा डेढ महिनामै ४९ जनाले गुमाए ज्यान

कोल्हवी न्यूज
२०८१ भाद्र २४, सोमबार १६:१६

धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ मा गत बुधबार साँझ ३ बालकको पोखरीमा डुबेर मुत्यु भयो । उनीहरू हजुरबुवा महावीर साहको वार्षिकीको शुद्धिभोजमा मावली गएका थिए । मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, ८ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेको इलाका प्रहरी कार्यालय, महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक सोनुकुमार साहले बताए ।

– गत असार १७ मा हराएको भनिएका दुई बालक अर्को दिन घरनजिकै पानी भरिएको खाल्डोमा मृतावस्थामा भेटिए । मृत्यु हुनेमा सिरहाको नरहा गाउँपालिका–३ खोरियाका ७ वर्षीय राहुल मण्डल र ८ वर्षका आशिष मण्डल छन् । मृतक बालक राहुलका बुवा र आशिषका मामा पर्ने सुशील मण्डलका अनुसार ग्राभेल खनेको ठाउँमा गहिरो खाल्डो बनेको थियो । बर्खाले त्यहाँ पानी भरिएको थियो ।

– धनुषाको धनौजी गाउँपालिका–५ बहुअर्वामा सडकछेउमा लहरै बस्ती छ । घरहरूसँगै टाँसिएर पश्चिमपट्टि ठूलो पोखरी छ । पोखरीको पश्चिम डिलमा खानेपानीको पम्पसेट गाँडिएको छ । गत असार २० मा ११ र १२ वर्षका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन चर्को घाममा पम्पसेटमा पुगे । अरू दिन पम्पसेटको पानीमा नुहाउने उनीहरू त्यो दिन छेउकै पोखरीमा हामफाले । निकै बेरसम्म बाहिर ननिस्कँदा उनीहरूसँगै गएकी एक सानी बच्चीले स्थानीयलाई खबर गरिन् । गाउँलेहरू पोखरीमा पुगेर तीन जनाको उद्धार गरे । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरे ।

मधेशमा पछिल्लो समय डुबेर बालबालिकाको मृत्यु भएको केही प्रतिनिधि घटना हुन् यी । गत साउनयता डुबेर ३९ बालबालिका र १० वयस्कसहित ४९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ, जसमध्ये धनुषामा १२, महोत्तरीमा ९, सप्तरीमा ७, सर्लाही र रौतहटमा ६–६, सिरहा र पर्सामा ४–४ र बारामा १ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशमा डुबेर १ सय ८५ जनाको मृत्यु भएको थियो, जसमध्ये १ सय २४ जना बालबालिका थिए । ‘डुबेर बालबालिकाको मृत्युको तथ्यांक डरलाग्दो छ । तर, सुरक्षा र रोकथामका लागि काम फिटिक्कै भएको छैन,’ नागरिक अगुवा विष्णु कुँवरले भने, ‘अभिभावकको कमजोरी त छँदै छ तर प्रदेश र स्थानीय सरकार पनि यसमा जिम्मेवार देखिएनन् ।’

बाढीपहिरो, शीतलहर, लू, आगलागी, हावाहुरी लगायतलाई विपद् भन्दै मधेशका १ सय ३६ वटै पालिका र प्रदेश सरकारले पूर्वतयारी थाल्ने गरे पनि पोखरी, नदी, खोल्सा, ठेकेदारले जथाभावी खनेर अलपत्र छाडेका गहिरो ठाउँमा डुबेर मृत्यु हुने घटनाप्रति भने बेवास्ता गर्दै आएका छन् । मधेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल दिनदिनै डुबेर बालबालिकाको मृत्यु भएको खबर आए पनि हालसम्म केही गर्न नसकेको स्विकार्छन् । ‘यो मामिलामा प्रहरीसँग परामर्शमा जुटेका छौं । सचेतना र रोकथामका लागि प्रयास भइरहेको छ । यो ठूलो क्षति हो । यसलाई रोक्न प्रदेश सरकार अब अगाडि बढ्नेछ,’ उनले भने ।

बर्सेनि ठूलो संख्यामा बालबालिका डुबेर मृत्यु हुँदा स्थानीय सरकार भने अर्को निकायलाई दोष दिएर पन्छिने गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी डुबेर मृत्यु हुने मामिलामा तीनै तहको सरकार गम्भीर हुनुपर्ने बताउँछन् । ‘हामीले सचेतनाका लागि माइकिङ त गरेका छौं । तर, त्यो पनि पर्याप्त होइन,’ उनले भने, ‘सडक कार्यालयले बाटो ठेक्का लगाउँछन् । ठेकेदारले खनेर खाल्डो अलपत्र छाडिदिन्छ । पानी जमेर त्यहीं बालबालिकाको मृत्यु हुन्छ ।’

खुला पोखरी, खोल्सा, खाल्डा वा पानी जमेको स्थानलाई सुरक्षति र घेराबेरा गर्नुपर्ने नागरिक अगुवा कुँवरको भनाइ छ । ‘पोखरीको गहिराइ मापन गरेर बालबालिकाको प्रवेशलाई सुरक्षित पार्नुपर्छ,’ उनले भने, ‘क्षति रोक्ने उपाय धेरै छन् । जलाशयलाई घेराबेरा गरेर एउटै द्वार बनाउने र पानीमा कहाँसम्म जाने भनेर रेडजोन एरिया निर्धारण गर्न सकिन्छ ।’कान्तीपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*