बारा : सशस्त्र प्रहरीको मिलेमतोमा मटीअर्वा नाका हुँदै चिनी, प्याज, केराउ र काजुको व्यापक तस्करी

कोल्हवी न्यूज
२०८१ भाद्र २१, शुक्रबार १६:०६

बारामा तस्करी गरिएको ठूलो मात्रामा चिनी र प्याज प्रहरीले बरामद गरेको छ ।

कलैया उपमहानगरपालिका-१२ मा रहेको खेदु मियाँको गोदामबाट १४ बोरा चिनी र ५३ बोरा प्याज नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मारेर बरामद गरेको हो ।

मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्मका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षकको मिलेमतोमा भारतबाट अवैध रूपमा ल्याइएको चिनी र प्याज मियाँको गोदाममा भण्डारण गरिएको बुझिएको छ ।

मधेस प्रदेश सशस्त्र प्रहरीका डिआइजी कालीदास धौजीको निर्देशनमा बिहीबार संयुक्त टोलीले छापा मारेको थियो । सो क्रममा प्रहरीले दुईवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

स्रोतका अनुसार मटिअर्वा नाकाबाट सुरक्षाकर्मीको मिलेमतोमा प्याज, काजु, चिनी, किसमिस र केराउको तस्करी हुँदै आएको छ ।

तर, सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहले आफूले कसैसँग अवैध कारोबारमा संलग्न नभएको र सुरक्षाकर्मीको ध्यान नपुगेको बताउँदै अस्वीकृत गरेका छन् । यस्तै, मटिअर्वाका सशस्त्र प्रहरी नायब विनोद भट्टराईले खुला सीमाका कारण तस्करी बढेको हुनसक्ने बताउँदै आफूले पनि कुनै गैरकानुनी आर्थिक लेनदेन नगरेको स्पष्ट पारेका छन् ।

यसअघि पनि मटिअर्वा नाकाबाट भित्रिएको तस्करीको सामान सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिई आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाएको थियो ।

स्रोतका अनुसार, यस अभियानमा स्थानीय निकायहरूसँग पनि समन्वय गरी थप कडाइ गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*