भारतको हिमतालहरूमा प्रविधियुक्त बाढी चेतावनी प्रणाली जडान शुरू

कोल्हवी न्यूज
२०८१ भाद्र १९, बुधबार ०६:४७ गते

भारतले फुट्ने जोखिम भएका हिमतालमा उच्च–प्रविधियुक्त चेतावनी प्रणाली जडान गरिरहेकाे छ । जलवायु परिवर्तनका कारण हिमतालहरू फुट्ने खतरा बढेको भन्दै झण्डै २ सय वटा हिमतालमा प्रविधियुक्त चेतावनी प्रणाली जडान गरेको त्यहाँका प्रकोप अधिकारीहरूले बताएका छन् ।

भारतका हिमालयमा रहेका साढे सात हजार हिमतालमध्ये धेरैमा बाढी आउने जोखिम रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) को टोलीले सबैभन्दा जोखिम मानिने एक सय ९० उच्च उचाइका तालहरूलाई लक्षित गरेर तीन वर्षमा उच्च–प्रविधियुक्त चेतावनी प्रणाली जडान गरिसक्ने उद्देश्यले काम गरिरहेको बताएका छन् ।

यो कार्यक्रमले भारतमा हिमाली क्षेत्रहरू, उत्तरमा कास्मिर र लद्दाखदेखि उत्तरपूर्वमा अरुणाचल प्रदेशसम्म, चीनको सीमासँग जोडिएका धेरै क्षेत्रलाई समेट्नेछ । एनडिएमएले जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण प्रगति गर्ने विश्वास व्यक्त गरेको छ । यो टोलीमा सेना र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनलगायत धेरै सरकारी एजेन्सीका विशेषज्ञ, भूगर्भविद्, जलवैज्ञानिक, कम्प्युटर इन्जिनियर र मौसम विशेषज्ञ संलग्न छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*