सर्लाहीमा नक्कली नोट छाप्न प्रयोग गरिने सामग्रीसहित ८ जना पक्राउ
नक्कली नोट छाप्न प्रयोग गरिने कागज, विभिन्न रंगका केमिकलसहित ८ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गडहिया डुमरिया, प्रहरी चौकी मधुबनी र सशस्त्र प्रहरी पोष्ट (बिओपी) मधुवनीबाट खटिएका संयुक्त प्रहरी टोलीले गोडैंता नगरपालिका वडा नम्बर १२ मधुवनीस्थित सिंचाईको लागि बनाइएको बोरिंगको गोठमा छापा मारेका थिए। शनिबार साँझ ६ बजेतिर गरिएको सो छापामा नक्कली नोट छाप्न प्रयोग गरिने सामग्रीसहित ८ जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका १५ का २६ वर्षीय सौगात थापा मगर, काठमाडौं महानगरपालिका ६ मनहरा निवासी ४७ वर्षीय विजय लामा, ललितपुर महानगरपालिका १ कुपण्डोल निवासी ३३ वर्षीय संजम राना मगर, भक्तपुर चाँगुनारायण ५ का ३७ वर्षीय अमिर खत्री, रौतहट चन्द्रपुर नगरपालिका ६ नराई टोल निवासी ३७ वर्षीय विशाल राई, गोडैंता नगरपालिका १२ मधुवनी निवासी जनार्धन सिंह, भारत बिहार राज्य सीतामढी जिल्ला बैरगनिया थाना पचटकीका ४९ वर्षीय नवल ठाकुर, र भारत बिहार राज्य सीतामढी जिल्ला मेजरगञ्ज निवासी ४० वर्षीय सुबोध कुमार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार, पक्राउ परेकाहरूमाथि जिल्ला अदालत मलंगवाबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।
छापामा प्रहरीले नोट बनाउन प्रयोग गरिने कागज, विभिन्न रंगका ८ लिटर केमिकल, नेपाली नोट ८५ हजार ७५ रुपैयाँ, १० थान मोबाइल, दुई थान भारतीय नम्बर प्लेटका मोटरसाइकल (विआर ०६बीएस ६८५७ र विआर ०७ ५२४३), र एक थान नेपाली नम्बर प्लेटको स्कारपियो नियन्त्रणमा लिएको छ।
प्रहरीले पक्राउ परेकाहरूमाथि नक्कली नोट छाप्ने कसुर अन्तर्गत मुद्दा चलाएर कारवाही सुरु गरेको जानकारी दिएको छ।
यात्राडेलीबाट साभार