नर्वेकी राजकुमारीले रोजिन् ‘धामी’, आत्मासँग सम्पर्क गर्न सक्ने दाबी

कोल्हवी न्यूज
२०८१ भाद्र १६, आईतवार १६:४३ गते

नर्वेकी राजकुमारी मार्था लुइसले अमेरिकाका ‘धामी’ दुरेक भेरेटसँग विवाह गरेकी छन् । पश्चिमी नर्वेमा रहेको प्रसिद्ध गेराङर फ्योर्डको किनारमा एक निजी समारोहमा उक्त विवाह सम्पन्न भएको हो ।

विवाह समारोहमा ३५० जना अतिथिहरूलाई निमन्त्रणा गरिएको थियो, जसमा स्विडिस र नर्वेजियन राजपरिवारका सदस्य तथा अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए । समारोह तीन दिनसम्म चलेको थियो ।

५२ वर्षीया राजकुमारी लुइस नर्वेका राजा हेराल्ड पाचौं र महारानी सोन्याको जेठी छोरी हुन् । उनी नर्वेको सिंहासनको चौथो उत्तराधिकारी पनि हुन् ।

यो राजकुमारी लुइसको दोस्रो विवाह हो । यसअघि उनले २००२ देखि २०१७ सम्म नर्वेका लेखक एरी बेनसँग विवाह सम्बन्धमा थिइन्, जसबाट उनका तीन छोरीहरू छन् ।

राजकुमारी लुइसका नयाँ पति ४९ वर्षीय दुरेक भेरेट हुन् जसले आफूलाई ‘छैटौँ पुस्ताका धामी’ भनेर चिनाउँछन् । उनीले आफू आत्मासँग सम्पर्क गर्न सक्ने र विभिन्न रोग निको पार्न सक्ने दावी गर्ने गर्छन् ।

राजकुमारी लुइस र भेरेटले २०१९ मा आफू प्रेममा रहेको घोषणा गरेका थिए । यो जोडीले आफ्नो विवाह समारोह र उत्सवका तस्विरहरू ब्रिटिश सेलिब्रिटी पत्रिका ‘हेलो !’ लाई बेचेका छन् ।

यो जोडीले केही व्यवसायिक गतिविधिहरूमा राजकुमारी लुइसको राजकुमारीको पदवी प्रयोग गरेको आरोपमा आलोचना पनि खेपेको छ । राजकुमारीले २०२२ मा व्यापार गर्ने भन्दै राजकीय जिम्मेवारीबाट राजीनामा दिएकी थिइन् ।

भेरेट नर्वेको विस्तारित राजपरिवारको हिस्सा बन्नेछन्, तर त्यहाँको कानूनअनुसार मूल राजपरिवारको सदस्यको रूपमा भने रहने छैनन् । उनलाई राजकुमारको उपाधि पनि दिने कानून नर्वेमा छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*