कास्कीको अन्नपूर्णमा दुई स्पेनी नागरिक बेपत्ता, खोल्साले बगाएको आशंका
कास्कीको अन्नपूर्ण गाउँपालिका- ९ बाट उल्लेरी जाने क्रममा दुई स्पेनी नागरिक बेपत्ता भएका छन्।
कार्यवाहक वडाध्यक्ष पुष्पा पुनका अनुसार अन्नपूर्ण गाउँपालिका-९ तिखेढुङ्गाबाट उल्लेरी जाने क्रममा पुलमुनि रहेको पुरानो बाटो हिँड्ने क्रममा उनीहरूलाई मौजा खोल्साले बगाएको सूचना आएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) चेक पोस्टमा नाम टिपाएर उल्लेरीतर्फ लागेका उनीहरूको खोजी सोमबार दिनभर गरिएको भए पनि फेला नपरेको उनले बताइन्।
आइतबार दिउँसो करिब ३ बजेतिर दुई विदेशी छहरामा खसेको भनेर स्थानीयले विरेठाँटी प्रहरीमा खबर गरेपछि प्रहरीले आएर खोजी गरे पनि उनीहरूको अवस्था अहिलेसम्म पत्ता नलागेको पुनको भनाइ छ। प्रहरी र स्थानीयले शंकास्पद ठाउँमा खोजी गरे पनि आवश्यक सामग्री नहुँदा खोजीमा समस्या भएको छ।
ती पर्यटक हिँड्नुपर्ने ‘रुट’ बाट बाहिर गएको देखिएको भन्दै उनले खसेको अनुमान गरिएको छहराको छेउमा बेपत्ता भएकाको सानो झोला र ‘आल्मुनियम’ को दुई वटा लौरी पनि भेटिएको जानकारी दिइन्। ती झोलामा पासपोर्ट पनि भेटिएका छन्। शुरुमा पुगेको प्रहरीले स्थलगत रूपमा हेर्दा चिप्लिएको जस्तो छाप देखिएको बताएको पनि कार्यवाहक वडाध्यक्ष पुनले बताइन्।
अहिले प्रयोगमा रहेको बाटो भन्दा फरक पुरानो बाटोमा पर्ने उक्त खोला र छहरा आकर्षक रहेको र मौसम पनि गर्मी भएकोले ती पर्यटक पानीमा खेल्दै छहराको दृश्यमा रमाउन जाँदा खसेको हुनसक्ने आशंका गरिएको छ।
मंगलबार गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर के.सी. सहित सुरक्षाकर्मीबाट उद्धारको विशेषज्ञ टोली लगेर खोजी गर्ने तयारी भइरहेको छ।










