बारामा सवारी दुर्घटनामा वृद्धि, दुई महिनामा १६ जनाको मृत्यु

कोल्हवी न्यूज
२०८१ भाद्र १०, सोमबार १४:२३

बारामा पछिल्लो समयमा सवारी दुर्घटनामा वृद्धि भएको देखिएको छ, जसले गर्दा दुर्घटनामा परि घाइते हुने र अनाहकमा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढ बाराका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिना नवित्दै साउनमा १३ र भदौमा ३ जना गरी १६ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाइसकेका छन्।

गत आर्थिक वर्ष २०८०/०८१ मा ७५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। यो वर्ष पनि दुर्घटनाबाट मृत्यु हुनेको संख्या हालसम्म १६ पुगेको छ।

भदौ ३ गते सोमबार राति खपरताता सडकखण्डमा कलैयाबाट धर्मनगरतर्फ जाँदै गरेको ना ५४ प ४७४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना २ ह ५३७२ नम्बरको टेम्पु एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो। मृतक २४ वर्षीय रामकान्त पटेल, कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मनगर टोलका बासिन्दा हुन्।

त्यस्तै, भदौ ८ गते शनिबार जीतपुरसिमरा उपमहानगरपालिका–१, पथलैया चोकमा पैदल यात्री रिकेश रुम्बालाई बा ७५ प ५४५१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएका थिए। मोटरसाइकल चालक ३० वर्षीय आदेश लामाको पनि सोही दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार, जीतपुरसिमरा उपमहानगरपालिका–१ आधाभार जंगलमा बिएबी ५०३५ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको बा ५८ प ४१४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३७ वर्षीय मान बहादुर प्रधानको नारायणी अस्पताल, बीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक माधव सिलवालले बारा लगायत देशभर सवारी दुर्घटना बढ्दै गएको बताए। दुर्घटनाको प्रमुख कारणहरूमा बिना लाइसेन्स सवारी चलाउने, ओभर स्पिड, मापसे गरी सवारी साधन चलाउनु, र चालकको लापरबाही रहेको उनले बताए।

सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले नियमित चेकिङ र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको र यस क्रममा चालकहरूबाट गुनासो पनि आउने गरेको सिलवालले जानकारी दिए। दुर्घटना न्यूनीकरणका लागि चालकहरूलाई सचेतना र सावधानी अपनाउनुपर्नेमा उनले जोड दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*