बाघको आक्रमणमा परि पर्सामा एक जनाको मृत्यु
पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ सखवनियाका ६० वर्षीय तुलसी राउत थारुको बाघको आक्रमणमा परि मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाका अनुसार, शुक्रबार अपरान्ह घर नजिकैको जङ्गलमा घाँस काट्न गएका बेला थारुमाथि बाघले आक्रमण गरेको थियो।
मृतक थारुको दाहिने खुट्टा र बाँया हात बाघले खाएको अवस्थामा उनको शव आज विहान सुगिभार नजिकै फेला परेको छ। हिजो दिउँसो घरबाट घाँस काट्न जङ्गल गएका थारु अबेर रातिसम्म पनि घर नफर्किएपछि स्थानीयहरुले खोजी कार्य थालेका थिए, जसको क्रममा उनको शव भेटिएको हो।
शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले शवको मुचुल्का उठाई पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्ज पठाएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले दिएका छन्।