त्रिशुलीमा बेपत्ता बस र यात्रु खोज्न आइपुग्यो भारतीय उद्धार टोली, ७ दिनसम्म खोज्ने
पहिरोले बगाएर त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली आइपुगेको छ।
नेपाल सरकारको अनुरोध बमोजिम भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) का प्राविधिक टोली प्रविधिसहित चितवन आइपुगेको प्रमुख जिल्लाअधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
उनका अनुसार सोनार क्यामरा र चार जना गोताखोर सहित ११ जनाको टोली आइपुगेको हो । उनीहरू शनिबारदेखि सात दिन नेपालमा रहेर खोज तथा उद्धारमा खटिनेछन्।
‘नेपाल सरकारले थप अनुरोध गरेमा थप निर्णय भएमा सोही बमोजिम हुनेगरी हाललाई ७ दिनका लागि उहाँहरु आउनभएको छ। यादवले भने, ‘हामीले घटनास्थल र घटनाको बारेमा जानकारी गराएर घटनास्थलतर्फ पठाएका छौं ।’
एक सातादेखि त्रिशुलीमा बेपत्ता बस अझै भेटिएका छैनन् । बससँगै हराइरहेका ६२ यात्रुमध्ये हालसम्म २५ जनाको शव भेटिएको छ । ३७ जना अझै बेपत्ता छन् ।
वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बस गत शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए । दुवै बसमा गरी ६५ यात्रु रहेकामा ३ जना पौडिएर बाँचेका थिए ।