आँप टिपेको निहुँमा १८ वर्षीय युवकको हत्या गरेको आरोपमा २ जना पक्राउ

कोल्हवी न्यूज
२०८१ असार २८, बिहीबार १६:२७

रौतहटमा आँप टिपेको निहुँमा एक युवकको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

प्रहरीले बौधीमाई नगरपालिका–१ बौधा पतौरा घर भइ हाल इशनाथ नगरपालिका–३ बस्ने १८ वर्षीय दशही साह र सोही ठाउँका १९ वर्षीय रोशन साहलाई पक्राउ गरेको छ।

२५ असारको राति ८ बजेतिर रौतहटको इशनाथ नगरपालिका–९ बस्ने १७ वर्षीय सहवाज मियाँको हत्या गरेको अवस्थामा शव फेला परेको थियो। मियालाई अज्ञात समूहले धारिलो हतियारले पेटमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

इशनाथ नगरपालिकाको कार्यालय अगाडि रहेको आँपको बगैँचामा मंगलबार राति उनीहरूले सहवाजलाई रड तथा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

मृतकको भाइले आँप बगैँचामा आँप टिपेको विषयमा दशहीले कुटपिट गरेको देखेपछि सहवाजले दशहीलाई झापड हानेका थिए। त्यही रिसइबीमा दशही र रोशन मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ उनीहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*