कुन्साङ बोमजम : स्कुलमा नाटकको अनुभव, ‘दान्भी’बाट डेब्युको अवसर
म्यूजिक भिडियो नियमित हेर्ने दर्शकका लागि कुन्साङ बोम्जन नयाँ अनुहार होइनन् । उनले ३५/४० वटा म्यूजिक भिडियोमा काम गरिसकेका छन् । फिल्ममा भने उनको डेब्यु ‘दान्भी’बाट भएको छ । यही असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर उनी जति उत्साहित छन्, आफ्नो काम रुचाइनेमा आशावादी पनि देखिन्छन् । फिल्ममा उनको चरित्रको नाम ‘सारांश’ हो ।
कुन्साङलाई ‘दान्भी’मा आफ्नो चरित्र चाखलाग्दो छ भन्ने लाग्छ । ‘मेरो चरित्रको बारेमा अहिले धेरै खोल्न चाहिँ मिल्दैन । यद्यपि, मेरो चरित्र गम्भीरदेखि अलिक फरक मोडबाट बाँचेको किसिमको छ । फिल्ममा अलिक गम्भीर र देशलाई माया गर्ने किसिमको मान्छे छु,’ कुन्साङ भन्छन् । कक्षा ११ सम्म कराँते सिकेका उनले बाल्यकालदेखि नै स्कूलमा हुने नाटकमा पनि अभिनय गर्दै आएका रहेछन् ।
सेन्ट जेभियर्समा अध्ययन गरेका उनी भन्छन्, ‘मैले कक्षा ३ देखि ११ सम्म मार्सल आर्ट गरेको थिएँ । ११ पछि मार्सल आर्ट छुट्यो । मार्सल आर्टले अहिलेसम्म निरन्तरता दिइरहेको भए ‘दान्भी’मा एक्सन गर्न धेरै सजिलो हुन्थ्यो होला । तर, बीचमा ग्याप भएकाले यही फिल्मका लागि मैले ६ महिना एक्सन तामिल नै लिएँ ।’ स्कूलमा नाटक गर्न थालेपछि अभिनयप्रति रुचि बढेको पनि उनी स्मरण गर्छन् ।
उनले कक्षा ६ देखि १२ सम्म विभिन्न कथावस्तुका नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका थिए । विदेशबाट समेत कलाकारहरु नाटक सिकाउन आउँथे । नेपाली र अंग्रेजी दुवै नाटकमा उनले अभिनय गरे । त्यसबेला फिल्मको ‘हिरो’ हुन्छु भन्ने चाहिँ उनले कल्पना गरेका थिएनन् । तर, आफ्नो भविष्य उनले अभिनयमै देखेका थिए । ‘दान्भी’बाट त्यो सपना पूरा भएकोमा कुन्साङ खुसी छन् ।
म्यूजिक भिडियोमा उनको रोमान्टिक छवि बनेको छ । ‘दान्भी’ले त्यो परिवर्तन गर्नेमा उनी विश्वस्त देखिन्छन् । उनलाई फिल्ममा आफूले काम देखाउन पाएको छु भन्ने लाग्छ । ‘सुरुदेखि अन्त्यसम्म जुन रुपमा मेरो क्यारेक्टर गएको छ, त्यो फिलिङ, इमोसनमा काम देखाउन पाएको छु । दर्शकलाई मेरो काम फरक लाग्नेछ,’ उनी भन्छन् । फिल्ममा उनको जोडी अभिनेत्री पूजा शर्मासँग बाँधिएको छ ।