चेपाङ समुदायको संघर्ष समेटिएको डकुमेन्ट्री ‘पचेडा’ को ट्रेलर सार्वजनिक

कोल्हवी न्यूज
२०८१ जेष्ठ २८, सोमबार १५:२७ गते

कुनै समय म्युजिक भिडियोमा व्यस्त तथा सफल नाम बनेका दीपेन्द्र केसीले वृतचित्र ‘पचेडा’ तयार पारेका छन्। ‘कथा भित्रका कथाहरू’ नामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त दीपेन्द्रले ‘पचेडा’ को ट्रेलर सार्वजनिक गरेका छन्।

डकुमेन्ट्रीमार्फत उनले चेपाङ समुदायको कथालाई प्रस्तुत गरेका छन्। चेपाङ जंगलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथालाई डकुमेन्ट्रीमा समेटेको उनले बताए। ‘कुनै हरर फिल्मको झल्को दिने भएता पनि यो वास्तविक कथा हो। वृत्तचित्रमार्फत सन्तलाल चेपाङको परिवारले बाँच्नका लागि गरिरहेको संघर्षको कथालाई जस्ताको त्यस्तै देखाउने कोसिश गरेको छु’, दीपेन्द्रले भने।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा उनले डकुमेन्ट्री तयार गरेका हुन्। फिल्म निर्देशनका लागि गरेको अध्ययन उनले डकुमेन्ट्रीमा प्रयोग गरेका छन्।

डकुमेन्ट्रीमा सन्तलाल चेपाङको कथालाई उनले तीन सेड्युलमा खिचेका थिए। ‘मैले त्यहाँ डकुमेन्ट्री मात्र खिचिन्, सन्तलालको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ,’ दीपेन्द्रले आफ्नो अनुभव सुनाउँदै भने, ‘उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँ। मेरो ईच्छा नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो।’

डकुमेन्ट्रीमा सन्तलालसँगै उनको परिवार ‘फिचर्ड’ छन्। डकुमेन्ट्री सन्तलालको घर रहेको मनहरी गाउँपालिकास्थित नयाँवस्तीमा खिचिएको छ। निर्देशक दीपेन्द्रसँगै विनिता क्षेत्री र बालकृष्ण खड्गी यसको निर्माता हुन्। डकुमेन्ट्रीको प्रदर्शनी चेपाङ बस्तीसँगै विदेशमा समेत गर्ने तयारी निर्माताको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*